यस्तो पनि उपचार ! (फोटो फिचर)
मनोज घर्तीमगर, पोखरा, मंसिर १४- पोखरास्थित तमु धी नेपालको प्राङ्गणमा ज्वालाप्रज्वलन विधिबाट निःशुल्क स्वास्थ्य उपचार सञ्चालन गरिएको छ। शिविरमा महिला बिरामीको घुइचो लागेको छ। सोमबारदेखि सुरु ५ दिने निशुल्क स्वास्थ्य शिविरमा हालसम्म साढे तीन सय बिरामीले उपचार गराएका छन्। तमु धी नेपालले आयोजना गरेको शिविरमा बिरामीको चाप बढेपछि दुई दिन थप गरिएको छ। भोलि शुक्रबार सकिने शिविर अब आइतबारसम्म चल्नेछ।
तमु धी नेपालका महासचिव देविराज तमुले परापूर्व कालमा लामा गुरुले औषधि विज्ञानको उदय नहुँदै प्राकृतिक जडीबुटीको धुलोको सम्मिश्रणलाई ज्वाला पद्धतिबाट शरीरमा प्रहार गरी उपचार गराइने भए पनि अहिले यस्तो उपचार विधि हराउँदै गएकाले त्यसको संरक्षण गर्न ज्वाला प्रज्वलन उपचार विधिबाट उपचार शिविर चलाएको बताए। मौलिक संस्कृति तथा परम्परालाई जगेर्ना गर्नुका साथै समुदायमा रहेका विभिन्न रोगका बिरामीलाई प्राकृतिक उपचार विधिबाट उपचार गराउने उद्देश्यले पोखरा १० वुद्ध शान्ति मार्गमा रहेको टाँसी छ्योएलिङ गुम्बाको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर भइरहेको छ।
शिविरमा प्यारालाइसिस, नसासम्बन्धी, हात खुट्टा झमझमाउने, ढाड दुख्ने, महिनावारी गडबडी, तल्लोपेट दुख्ने, ग्याष्ट्रिक, बाथ, प्रेसर, सुगर, पिनास, प्यारालाइसिस, छाला चिलाउने, दाँतसम्बन्धी, कालोपोतो तथा चाँयाको ज्वाला प्रज्वलन विधिबाट उपचार भइरहेको लामागुरु आम्ची लामा गोपाल गुरुङले बताए। उनका अनुसार २९ किसिमका जडिबुटीलाई कुटेर, धुलो बनाएर त्यही धुलोबाट ज्वाला निकालेर उपचार गरिन्छ।







प्रतिक्रियाहरू (0)
No comments:
Post a Comment